निर्माणाधिन बहुप्राविधिक महाविद्यालय मुख्यमन्त्री पौडेलद्वारा निरीक्षण

निर्माणाधिन बहुप्राविधिक महाविद्यालय मुख्यमन्त्री पौडेलद्वारा निरीक्षण

हेटौंडा, ५ मंसिर/ ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल–भारत बहुप्राविधिक महाविद्यालय निर्माणस्थलको निरिक्षण गर्नुभएको छ ।

हेटौंडामा निर्माणाधिन रहेकाे महाविद्यालयकाे अवलाेकनका क्रममा निर्माण कम्पनीसंग कामको प्रगतीबारे जानकारी लिनुभएको थियो ।
निर्माण प्रकृयामा कुनैपनि समस्या आए जानकारी दिन पनि निर्माण कम्पनीको प्रतिनिधिलाई आग्रह गर्नुभएको थियो । महाविद्यालय निर्माणका लागि गत कात्तिक १९ गते मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो । शिलान्यासका क्रममा उहाँले द्रुत गतिमा काम गर्न निर्माण कम्पनीहरुलाई निर्देशन दिनुभएको थियो । बहुप्राविधिक महाविद्यालयमा प्रत्येक वर्ष २ हजार ५ सय प्राविधिक उत्पादन हुने विश्वास व्यक्त गर्नु भएको छ । प्राविधिक शिक्षा अहिलेको अवस्थामा अति महत्व रहेकोले यसलाई आफूले बिषेश चासोका साथ हेरेको बताउनुभयो । सरकारको नीति अनुसार नै काम गर्न लागिएको बताउँदै यस महाविद्यालयमा अध्यापन हुने ४ वटा प्राबिधिक विषय जिबन उपयोगी हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।
बिबिध कारणले लामो समय रोकिएको योजना जती सक्दो चाँडो सक्न पनि आग्रह समेत गर्नुभयो । शिलान्यासका क्रममा मुख्यमन्त्री पौडेलले अब आफैले निर्माणको काममा निगरानी गर्ने समेत बताउनु भएको थियो । उहाँले ढिलासुस्ती हुन नदिने भन्दै बिहान, बेलुकोका समय मिलाएर निगरानी गर्ने बताउनुभएको थियो । अवलोकनमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको पनि सहभागिता रहेको थियो । शिलान्यास भएदेखि नै जमिन सम्याएर ‘बेस’ तयार गर्ने काम सुरु गरिएको छ ।
२०६६ साल फागुन ४ गते तत्कालीन राष्ट्रपति रामबरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकको रुपमा भारतीय लगानीमा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । प्रदेश सरकारले २६ बिगाह जग्गा महाविद्यालयको भवन निर्माणका लागि उपलब्ध गराएको छ । भारतीय अनुदानको ५८ करोड ४४ लाख रुपियाँ लागतमा २६ वटा सुविधासम्पन्न भवनहरु, खेलमैदान, शैक्षिक कक्षाहरु, वर्कशपजस्ता कक्षहरुसहित आवासीय भवनहरु समेत निर्माण हुनेछन् ।