लकडाउन प्रभावकारी बनाउन स्थानीय तह महत्वपूर्णः मुख्यमन्त्री पौडेल

लकडाउन प्रभावकारी बनाउन स्थानीय तह महत्वपूर्णः मुख्यमन्त्री पौडेल

हेटौंडा, २ बैशाख \ बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहको महत्वपूर्ण भुमिका हुने बताउनुभएको छ ।

उहाँले वडासङ्ग समन्वय गरेर आवश्यक सामाग्रीहरु वडाभित्र व्यवस्था गरेर लकडाउन प्रभावकारी बनाउन पालिका प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको छ । स्थानीय तहका प्रमुखहरुसङ्ग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्दै मुख्यमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । कोरोना भाईरसका कारण देशमा जारी रहेको लकडाउनको अवस्थाका बिषयमा मकवानपुरको मनहरी गाउँपालिकाका प्रमुख एकराज उप्रेती, चितवनको रत्ननगर नगरपालिका प्रमुख नारायण वन, सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका प्रमुख जगतबहादुर भ्लोन, धादिङको धुनीबेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य र दोलखाको भिमेश्वर नगरपालिका प्रमुख भरत केसीसङ्ग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्नुभएको हो । पौडेलले कुराकानीका क्रममा सबै स्थानीय तहले आफ्ना नाकाहरुमा कडाइ गर्ने हो भने लकडाउन प्रभावकारी हुने बताउनुभयो । यो महामारीबाट बच्न सरकार निर्मम पनि हुनु जरुरी देखिएको उहाँको भनाई थियो । सरकारले समयानुकूल राहत उपलब्ध गराउने पनि जानकारी दिनुभयो । स्थानीय तहले मात्र राहत वितरण गनुपर्ने बताउँदै राहत वितरणमा एकद्वार नीति अपनाउन आग्रह गर्नुभयो । “ लकडाउनका कारण काम गर्न नपाएर दैनिक गुजारा गर्न नसकी साच्चै मर्का परेकालाई मात्र राहत दिने वातावरण बनाउनुहोस, राहत आवश्यक परेका ठाउँमा पु¥याउन प्रदेश सरकारले सहयोग गर्छ” मुख्यमन्त्री पौडेलले भन्नुभयो । पौडेलले कृषि क्षेत्रकोे समस्या समाधान गर्न सरकारले छलफल गरिरहेको भन्दै कृषि उपजहरुको बिक्री वितरणको व्यस्थापन सहज बनाउन किसानलाई सहयोग गर्नेपनि बताउनुभयो । उहाँले भौतिक दुरी कायम गरी कृषि उत्पादनमा सहभागि हुन सकिने बताउनुभयो । मुख्यमन्त्री पौडेलले खेती गर्ने समय नजिक आएकोले बीउबिजन, मल आदिका लागि स्थानीय तहले समन्वय गर्न आग्रह गर्दै यसका लागि प्रदेश सरकारले तयारी शुरु गरेको जानकारी दिनुभयो । उहाँले दैनिक रुपमा प्रयोग हुने अत्यावश्यक वस्तुलाई सहज वितरणमा स्थानीय तहले समन्वय गर्नुपर्ने बताउनुभयो । कोरोनाबाट बच्न लकडाउन प्रभावकारी बनाउनु विकल्प नभएको भन्दै आवत जावत रोक्नु नै अन्तिम अश्त्र भएको उहाँको भनाई थियो । यसैगरी बुधबार चितवनको भरतपुर र माडि नगरपालिका, सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चाकको बाह्रबिसे नगरपालिकाका प्रमुखहरुसंग भिडियो कन्फ्रेन्स गर्ने कार्यक्रम रहेको छ ।