मुख्यमन्त्री पौडेलद्वारा सतुंगल–मातातिर्थ–देउराली–कुलेखानी सडक अवलोकन

मुख्यमन्त्री पौडेलद्वारा सतुंगल–मातातिर्थ–देउराली–कुलेखानी सडक अवलोकन

हेटौंडा, १३ असोज ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–काठमाण्डौ जोड्ने बैकल्पिक मार्ग सतुंगल–मातातिर्थ–देउराली–कुलेखानी सडकको शनिबार अवलोकन गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले सो सडक स्तरीकरणका लागि काम सुरु गराउनका लागि अनुगमन गर्नुभएको हो ।
प्रदेश सरकारले सो सडक निर्माणका लागि सर्वे पनि सुरु गरिसकेको छ । हेटौंडा–फाखेल–काठमाण्डौ सडक खण्डको फाखेलको महालक्ष्मी हुँदै चखेल देउराली हुँदै सो सडक काठमाडौमा जोडिएको छ । हेटौंडा प्रदेश राजधानी भएसंगै सडक सञ्जाल विस्तार गर्न उक्त सडकको स्तरीकरण गर्न लागिएको मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । सो सडक भएको स्थानमा तरकारीहरु धेरै उत्पादन हुने भएकोले बजारीकरणमा पनि थप सजिलो हुने मुख्यमन्त्री पौडेलको भनाई छ । सो सडकको सञ्जाल विस्तार भए पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने उहाँले बताउनुभयो । हाल एकतर्फीरुपमा आवत जावत हुने कच्ची सडकलाई कालोपत्रे गरी २ लेनको बनाईने पनि मुख्यमन्त्री पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकारले सो सडकका लागि हाल ४ करोड विनियोजन गरेको छ भने स्तरीकरण सुरुभएसंगै बजेट रकम पनि थप हुने बताईएको छ । फाखेलको महालक्ष्मी देखि काठमाण्डौ कलंकी चोकसम्म उक्त सडकको दुरी २१ किलोमिटर रहेको छ । मकवानपुर र काठमाडौंको सिमानामा रहेको देउराली भन्ने स्थानबाट मनोरम दृष्यको अवलोकन समेत गर्न सकिने छ ।